काठमाडौं, ७ चैत । एमाले दोलखाले २१ फागुनको आम निर्वाचनमा मौन विद्रोहमार्फत जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै गम्भीर समीक्षाको जगमा पार्टीलाई पुनर्जागृत गर्ने सङ्कल्प गरेको छ ।
शुक्रवार सदरमुकाम चरिकोटमा सम्पन्न जिल्ला कमिटीको बिस्तारित बैठकबाट एमालेले गम्भीर समीक्षाको जगमा जनसम्बन्ध बिस्तार गरेर पुनर्जागृत गर्ने सङ्कल्प गरेको हो ।
आन्तरिक र बाहिरी कमजोरी सच्याएर पार्टीको बिरासत फर्काउने गरि सकृय बन्न एमाले दोलखाले पार्टी पङ्तिलाई आह्वान गरेको छ ।
त्यस्तै, चुनावमा पार्टीलाई अन्तरघात गर्नेहरुको पहिचान गरेर अभिलेख राखी क्रमश समीक्षा गर्दै जाने नीति लिइएको अध्यक्ष नर बहादुर श्रेष्ठले जनाएका छन ।
“विस्तारित बैठकको समीक्षामा जनताको मौन विद्रोहबाट दल परिवर्तन नगरी मत परिवर्तन गरेकोमा हामी गम्भीर छौ । जनताको उक्त निर्णयप्रति सम्मान गर्दै हामी पुनः दोलखाली जनताको जनविश्वास प्राप्त गर्ने गरी दृढताका साथ काम गर्ने वैठकले प्रतिबद्धता गरेको छ” बैठकपछी जारी प्रेस नोटमा श्रेष्ठले भनेका छन,”तर निर्वाचनकै सन्दर्भमा नेकपा एमालेको विभिन्न जिम्मेवारी पदमा रहेर निर्वाचनमा सक्रिय हुदै आफैले मत वदल्ने र पर्दाभित्र बसेर पार्टीलाई हराउन षड्यन्त्र गर्नेहरू पहिचान भएमा त्यसलाई अभिलेखमा राखी समीक्षा गर्दै जाने बैठकले निष्कर्ष निकालेको छ ।”
बिस्तारित बैठकमा प्रतिनिधीसभाका उम्मेद्वारसमेत रहेका जिल्ला इन्चार्ज तथा पुर्व मन्त्री पार्वत गुरुङ, नेताहरु लालकुमार केसी, शिबप्रसाद भण्डारी, वागमति प्रदेश मन्त्री भरत केसीलगायतले सम्बोधन गरेका थिए ।
यस्तो छ, प्रेस नोटको मुख्य अङ्श
प्रतिनिधिसभा निर्वाचन २०८२ हुने र नहुने अन्धकार र अन्योलता बीच निर्वाचनमा प्रवेश गर्नुपरेको अवस्था थियो। चुनावअघि नै पार्टीमाथि तीव्र आक्रमण, आलोचना र राजनीतिक घेराबन्दी भइरहेका बेला पनि पार्टी संकटमा पर्दा जिम्मेवारी वहन गर्दै चुनावी मैदानमा उभिनु बाध्यता होइन, वैचारिक प्रतिबद्धता र पार्टीलाई संकटबाट बचाउनु थियो। यो निर्वाचन हाम्रो लागि प्रतिकूल रहेको अनुभूति थियो। त्यसैले अत्यन्त उत्कृष्ट परिणामको अपेक्षा गरिएको थिएन। तर प्राप्त परिणामको गहिराइले भने हाम्रो पार्टीलाई गम्भीर आत्मसमीक्षाको बिन्दुमा उभ्याएको छ।
आज हामी इतिहासकै कठिन मोडमध्ये एकमा उभिएका छौँ, जहाँ भावनात्मक प्रतिक्रिया भन्दा बढी न्यायपूर्ण र विवेकपूर्ण विश्लेषण आवश्यक छ। यो संकटको वेला केवल एउटा पार्टीको सीमा भित्रको घटना होइन। व्यापक अर्थमा यो सिंगो लोकतान्त्रिक तथा वाम आन्दोलनले सामना गरिरहेको संक्रमणको संकेत हो। नेतृत्व परिवर्तन, नयाँ दल निर्माण, गठबन्धन,पुनर्संरचना वा वैकल्पिक राजनीतिक प्रयोगहरू अपनाएका शक्तिहरूले समेत अपेक्षित सफलता प्राप्त गर्न सकेनन्। यसले वर्तमान राजनीतिक असन्तोष संरचनागत र समाजव्यापी रहेको स्पष्ट गर्छ।
- युवा पुस्तामा देशभित्र अवसरको अभाव र भविष्यप्रतिको अनिश्चितताले राजनीतिक निर्णयलाई पनि प्रभावित गरिरहेको देखियो। मतदान केवल विचारको आधारमा नभई निराशा, अपेक्षा र वैकल्पिक भविष्य खोज्ने मनोविज्ञानबाट निर्देशित हुँदै गयो। लोकप्रियतावादको लहरले क्षणिक प्रभाव पार्न सक्ने भए पनि नेपालको सामाजिक संरचना, ऐतिहासिक चेतना र संस्थागत राजनीतिक अभ्यासका कारण दीर्घकालीन रूपमा केवल लोकप्रिय नाराले स्थायित्व पाउन सक्दैन भन्ने कुरा जनतालाई बुझाउन सकिएन । कतिपय विषयहरू समयमै सच्याउन सकिने थिए। कतिपय भने शक्ति सन्तुलनभन्दा बाहिरका, अनुमान गर्न कठिन र परिस्थिति निर्मित थिए। त्यसैले अहिलेको आवश्यकता दोषारोपण होइन, वस्तुनिष्ठ र निर्मम आत्मसमीक्षा हो। समीक्षा नगरी यथास्थितिलाई स्वीकार गरियो वा सम्पूर्ण जिम्मेवारी बाह्य कारकमा मात्र थोपर्ने प्रवृत्ति अपनाइयो भने संकट झन् गहिरिँदै जानेछ।
- अन्ततः फागुन २१ को निर्वाचन हार जितको अंकगणितभन्दा बढी राजनीतिक चेतना, मनोवैज्ञानिक परिवर्तन र आगामी राजनीतिक पुनर्संरचनाको संकेत दिने ऐतिहासिक अवसरका रूपमा स्थापित भएको निष्कर्ष निकालिएकोछ। नेपाली राजनीतिमा विकसित हुँदै आएको असन्तोष, प्रयोगवाद, लोकप्रियतावाद (Populism) र बाह्य तथा आन्तरिक शक्ति संरचना बीचको अन्तरविरोध र अर्न्तसंघर्षको परिणाम स्वरूप आएको राजनीतिक परीक्षाको रुपमा यो निर्वाचन रहेको हाम्रो पार्टीले समिक्षा गरेको छ ।
- भाद्र २३ र २४ गतेका घटनाहरूले नेपाली राजनीतिक दलहरू र विशेषत् योजनाबद्ध रूपमा नेकपा (एमाले)प्रति अविश्वास सिर्जना गर्ने वातावरण निर्माण गर्यो। हामीले निर्वाचनमा भाग लिएको राजनीतिक वातावरण असहज र प्रतिकूल थियो। पार्टीका दर्जनौँ कार्यालयहरू ध्वस्त पारिएका, सयौँ नेता-कार्यकर्ताका घरहरूमा आक्रमण गरिएका, नेतृत्वमाथि स्थान हद तथा राजनीतिक घेराबन्दी सिर्जना गरिएको परिस्थितिमा निर्वाचनको सामना गर्नु आफैंमा लोकतान्त्रिक प्रतिबद्धता, राजनीतिक साहस र जनताप्रतिको अटल विश्वासको प्रमाण थियो। राजनीतिक दलहरूलाई असफल सावित गर्ने, संस्थागत राजनीतिलाई कमजोर बनाउने र ‘स्थापित राजनीतिक दलभन्दा बाहिरको विकल्प’ निर्माण गर्ने एउटा मनोवैज्ञानिक अभियान समाजमा विस्तार गरियो। त्यसको प्रत्यक्ष असर दोलखा जिल्लाको निर्वाचनमा पनि देखियो। नेकपा एमालेको बलियो आधार रहेको र वामपन्थीको पकड भनिएको निर्वाचन क्षेत्र पनि गुमाउनु पर्यो ।
