-किरणराज गौतम
नेपालमा हरेक वर्ष जस्तै यस वर्ष पनि अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढी र पहिरोको जोखिम बढेको छ। तर यो वर्षको अवस्थाले गत वर्षको तुलनामा फरक तसस्बिर देखाएको छ । संकट त उस्तै छ, तर व्यवस्थापनमा सुधार देखिन थालेको छ।
गत वर्ष २०८१ को मनसुनमा देशभर २५० भन्दा बढी मानिसले ज्यान गुमाए। गृह मन्त्रालयका तथ्यांक अनुसार, बाढी–पहिरो र डुबानका घटनाबाट ३२ जिल्ला बढी प्रभावित भएका थिए, पाँच हजार भन्दा बढी घर विस्थापित भएका थिए र ४० अर्ब रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति क्षति भएको थियो। धेरै स्थानमा तत्काल उद्धार कार्य ढिलो हुँदा मानवीय क्षति अझ बढेको थियो।
यस वर्ष २०८२ को मनसुनमा पनि वर्षा उस्तै तिव्र रह्यो। नेपाल जल तथा मौसम पूर्वानुमान विभागका अनुसार यो वर्षको मनसुनको औसत वर्षा गत वर्षभन्दा ३ प्रतिशत बढी थियो। तर, सरकारको सक्रियता र सचेतनाले प्रभाव घटाएको देखिन्छ। गृह मन्त्रालयले हालसम्मको तथ्यांक अनुसार मानवीय क्षति २२ जना तथा अझै बढ्ने सम्भावना भएको जनाएको छ, जुन गत वर्षको तुलनामा ९० प्रतिशत भन्दा कमी हो।
नेपालमा २०८१ आश्विन १० देखि १३ गतेसम्म परेको अविरल बर्षाले बागमती प्रदेशमा धेरैठूलो क्षेती पुरयाएको थियो । सो बाढी र पहिरोबाट बागमती प्रदेशमामात्र २१६ जनालेज्यान गमुाएका थिए जसमा सबैभन्दा धेरै ७९ जनाको मृत्यु काभ्रपेलाञ्चोक जिल्लामा भएको थियो । त्यसैगरी १६८ जना घाइते र १४ जना बपेत्ता भएका थिए । विपदमा परेका कुल १६,७७९ जना ब्यक्तिहरुलाई विभिन्न स्थानबाट उद्धार गरिएको थियो । बागमती प्रदेश नीति तथा योजना आयोगद्वारा निर्माण गरिएको प्रतिबेदन अनुसार सो मनसुनजन्य घटनाबाट १० अर्ब ९९ करोड ६४ लाख बराबरको क्षेती भएको थियो ।
सरकारले यसवर्ष मनसुन सुरु हुनु अघि नै विपत पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ लागू गरेको थियो। यस अन्तर्गत प्रत्येक जिल्ला प्रशासन कार्यालयमा तत्कालीन ‘र्यापिड रेस्पोन्स टीम’ गठन, प्रहरी र सेनाको सहकार्यमा ड्रोनमार्फत जोखिम मूल्यांकन, र एससएमएस चेतावनी प्रणाली प्रयोगमा ल्याइएको छ। यसका साथै, बाढी सम्भावित क्षेत्रका परिवारलाई पूर्वसूचना र सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।
गत वर्ष टहरोको छतमा बसेर घण्टौं उद्धारको प्रतीक्षा गरेका नागरिकहरूको पीडा अझै ताजा छ। त्यतिबेला सरकारको ढिलासुस्ती, निर्देशनको अभाव र कर्मचारीतन्त्रको अकर्मण्यता मुख्य कारण बनेका थिए। तर, यो वर्ष उही स्तरको वर्षा हुँदाहुँदै पनि समयमै सूचना, पूर्वतयारी र लचिलो व्यवस्थापनका कारण जनधनको क्षति न्यून भएको तथ्यले देखाउँछ । समस्या प्राकृतिक हो, तर क्षति मानव निर्णयले निर्धारण गर्छ।
अब आवश्यक छ यो सुधारलाई संस्थागत बनाउने। प्राकृतिक विपद् व्यवस्थापनमा देखिएको यो ‘तात्कालिक तत्परता’लाई दीर्घकालीन योजनामा रूपान्तरण गर्नुपर्छ। कर्मचारीतन्त्रमा प्राविधिक दक्षता, उत्तरदायित्व र लचिलोपन अभिवृद्धि अनिवार्य भइसकेको छ।
नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा बाढी र पहिरो रोक्न सम्भव नहोला, तर यसको प्रभाव घटाउने सोच, तत्परता र नीति भने मानवीय निर्णयले नै निर्धारण गर्छ। र यही सोच परिवर्तन नै गत वर्ष र यस वर्षबीचको सबैभन्दा ठुलो भिन्नता बनेको छ ।
अब आवश्यक छ, कर्मचारीको सोचमा परिबर्तन जरुरी छ, तर कुनै पनि अनधिकृत व्यक्तिको हस्तक्षेपले कर्मचारीको मनोबलमा पर्ने असर र त्यसको जोखिम झन् भयावह हुन सक्छ। देशको सेवा गर्ने भावना र उत्तरदायित्वको संस्कार कर्मचारी प्रणालीमा स्थापित हुन सकेमात्र दीगो सुधार सम्भव हुन्छ। “देश मेरो हो, मैले देशको लागि इमानदारीपूर्वक काम गर्नुपर्छ” भन्ने भावना प्रत्येक कर्मचारीको मनमा पलाउन सके, तब मात्र नयाँ नेपाल अबको विश्वको “नयाँ नेपाल” बन्न सक्नेछ।
( गौतम, सामाजिक विश्लेषक तथा प्रशासनिक योजनाकार हुन )
